दुर्गा प्रसाईंका समर्थकहरु प्रदर्शनमा उत्रिए

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । 

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरण सहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका  प्रसाईलाई रिहा गर्न माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका हुन् । 

प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबारे दर्ता भएको  रिट निवेदन आज पेसीमा चढेको छ । 

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । रिट निवेदा पेसीमा चढेसँगै उनका समर्थकहरु सडकमा उत्रिएका हुन् । 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध मिथ्या र गलत सामग्री सहित  दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  भक्तपुर निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । 

प्रसाईंले  प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा  २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ ।
 

प्रतिक्रिया