दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट निवेदको सुनुवाइ आज हुँदै
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबारे दर्ता भएको रिट निवेदको सुनुवाइ आज हुँदै छ ।
सो रिटको सर्वाेच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध मिथ्या र गलत सामग्री सहित दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भक्तपुर निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ ।
प्रतिक्रिया