पाकिस्तानका पूर्वप्रधानमन्त्री खानका रिहाइको माग गर्दै जारी आन्दोलन स्थगित

एजेन्सी । पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पी.टी.आई.) ले पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै शुुरु गरेको इस्लामाबाद विरोध कार्यक्रम फिर्ता लिएको छ ।

जेलमा रहेका आफ्ना नेता तथा पूर्व प्रधानमन्त्री खानको रिहाइका लागि दबाब दिन भन्दै पी.टी.आ.ई.ले आइतबार देखि विरोध कार्यक्रम शुुरु गरेको थियो । पी.टी.आई.को सेन्ट्रल मिडिया सेलले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको बर्बरता र राजधानीलाई निहत्था नागरिकको हत्या गर्ने योजनालाई दृष्टिगत गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनलाई अस्थायी रुपमा स्थगित गरिएको जनाएको छ । 

इस्लामाबाद आउने र शहर भित्र प्रवेश गर्ने क्रममा भएका झडपमा सयौं प्रदर्शनकारी घाइते भएको जनाइएको छ । मंगलबार राति सुरक्षा फौजले एका–एक छापा हानेर अश्रुग्यास सहित व्यापक कारबाही चलाएपछि इस्लामावाद पुगेका प्रदर्शनकारी तितरबितर भएका थिए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार  संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानको मार्गदर्शनमा भावी कार्यक्रमको घोषणा गरिने उल्लेख छ । पी.टी.आई.का प्रवक्ताले विरोध प्रदर्शनका क्रममा अहिले सम्म पार्टीको ८ जनाको मृत्यु भएको जनाएका छन् । 

विरोध प्रदर्शनको घोषणा भएयता पी.टी.आई.का ५ सय कार्यकर्तालाई गिरफ्तार भएका छन् । पूर्वप्रधानमन्त्री खान विगत एक वर्ष भन्दा बढी समय देखि भ्रष्टाचार अभियोगमा रावलपिण्डीको जेलमा छन् । सन् २०२२ मा अविश्वास प्रस्ताव द्वारा उनलाई प्रधानमन्त्री पद बाट हटाइए यता १ सय भन्दा बढी अभियोग लगाइएको छ । 

प्रतिक्रिया