रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी
पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदा हुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एक पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी गरेका छन् ।
मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन बाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन् ।
मोदी–५ बाजुङको टिमुरे स्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रमा सञ्चालित फार्म बाट वार्षिक ३ करोड सम्म आम्दानी हुने गरेको उनले बताए । । फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्री बाट ३ करोड आम्दानी भएको उनी बताउछन् ।
लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षक बाट अवकाश लिएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बने । जनप्रतिनिधि निर्वाचित भए सँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको समय हाल माछापालनमा बित्ने गरेको छ ।
चारैतिर वन र दुई तिर खोलाको बीचमा रहेको मोदी रेम्बो ट्राउट प्रा.लि. चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पातिचौर बजार बाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।
उनका फार्म यतिबेला विभिन्न क्लब, सङ्घसंस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसानका लागि अवलोकन स्थल पनि बनेको छ । पछिल्लो समय बाह्य पर्यटक तथा मत्स्य प्रेमी अवलोकन, माछा मार्न, विभिन्न परिकार बनाएर खानका लागि फार्ममै आउने गरेका छन् । उत्पादित ट्राउट माछा पोखरा–काठमाडौंका माछा पारखी सम्म पुर्याउन भ्याइनभ्याई छ । वार्षिक तीस टन माछा उत्पादन हुने फार्ममा हाल पाँच जनाले रोजगारी पाएका छन् ।
विसं २०७१ देखि शुरु भएको उक्त फार्म केही वर्ष अघि आएको बाढीले पूर्ण रुपमा क्षति भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानीमा पुनः सञ्चालन गरेका थिए । फार्म बाट भएको आम्दानी मध्ये सबै खर्च कटाएर एक करोड १५ लाख बचत हुने गरेको छ । अस्थायी र स्थायी गरी ३७ वटा पोखरी रहेका सो फार्ममा सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छभने मत्स्य विकास केन्द्रले पनि फार्मको स्तरोन्नति तथा पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
रेम्बो ट्राउट प्रति केजी एक हजारमा बिक्री हुन्छ । स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने उनको फार्मको माछा धेरैको रोजाइमा छ । कुश्मा–बागलुङको बजारका अतिरिक्त पोखरा, काठमाडौंकामा माछाको माग रहेको तिमिल्सिनाले बताए । गत वर्ष देखि उनले भुरा आफैँ उत्पादन गर्न थालेका छन् ।
रासस
प्रतिक्रिया