मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हाल सम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजार देखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।
“दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्त सम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भने ।
लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो ।
यसैगरी, बिहुँ देखि घोडाबाँधे सम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हाल सम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वत स्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताए ।
रासस
प्रतिक्रिया