वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक १ लाख आम्दानी

सुनसरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेती बाट मनग्य आम्दानी गरिरहेका छन् ।  दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै शुरु गरेको च्याउखेती बाट राम्रो आम्दानी गरिरहेका छन् । 

सात वर्ष सम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किए पछि आफूहरुले व्यावसायिक च्याउखेती शुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए । 

उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन् ।  च्याउ बजारमा थोकमा प्रतिकेजी  एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई एक सय ५० मा बिक्री गर्ने गरेको उनले बताए । 

रोशनले भने, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरा लगायतमा पुग्ने गरेको छ ।” 

तत्कालीन समयमा ५० हजार लगानीमा शुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यही बाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यस बाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । 

मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले  पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउ खेती गर्न सकिन्छ,” उनले भने, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।”

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यस बाहेक बास र खरले छाएको टहरा सँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक तीन सय ५० केजी सम्म च्याउ बिक्री भइरहेको छ । 

साउन देखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ । “विदेशमा गएर धेरै दुःख गर्नु भन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भने ।

उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्र बाट एक लाख अनुदान पाएका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार अनुदान दिएको छ । 
रासस 

प्रतिक्रिया