प्रतिनिधि सभाका सांसदहरु: टिकापुर घटनामा जेलमा रहेकालाई रिहा गर्न सांसद चौधरीको माग
प्रतिनिधि सभा बैठकको शुन्य समयमा समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन । आजको प्रतिनिधि सभा बैठकमा सदस्य तेजुलाल चौधरी ८ वर्ष अघि टिकापुर घटनामा जेलमा रहेकाहरुलाई रिहा गर्न माग गरे । थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्ने उनले बताए ।
प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडी बढाउनुपर्ने माग गरे ।
प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।
प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा दुई सय प्रतिशत शुल्क वृद्धि गरेको भन्दै फिर्ता लिन माग गरे ।
प्रतिनिधि सभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन ।
त्यस्तै प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया