जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक : मन्त्री शाही

काठमाडौं ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन्।

वन्यजन्तु सरक्षण सङ्घ नेपालले मंगलबार काठमाडौंमा  आयोजना गरेको ‘नेपालमा चक्रिय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्घाटन गर्दै मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

मन्त्री शाहीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए । 

केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पु¥याएको असर र समाधानका लागि नेपालले  पैरवी गरेर आएको मन्त्री शाहीले बताए ।

 सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, दातृ निकायका प्रतिनधि, विभिन्न सङ्घ संस्था, चक्रिय अर्थतन्त्रमा आधारित उद्योग व्यवसाय, युवा उद्यमी, विद्यार्थी, पत्रकार, वातावरणविद, समाजसेवी लगायतको उपस्थिति छ । सम्मेलनमा विभिन्न शीर्षक अन्तर्गत ‘प्यानल’ छलफल समेत गरिने आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया