टीकापुर घटनाका ८ वर्ष पुरा,  पीडितहरूले न्याय नपाएको गुनासो

कैलालीमा भएको टीकापुर घटनाको आज ८ वर्ष पुगेको छ । थारुवान प्रदेशको माग गर्दै थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाको ८ बर्ष पूरा भएको हो । दिवसका अबसरमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नाउपा लगायतले आज विद्रोह दिवस मनाउदैछन । २०७२ भदौ ७ गते अर्थात आजकै दिन टीकापुरमा भएको उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो । टीकापुर हत्याकाण्ड मच्चिएकै दिनदेखि फरार रहेका रेशमले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । घटनामा रेशम चौधरीलाई तीन तहकै अदालतले टीकापुर हत्याकाण्डका मुख्य दोषी माने पनि सरकारले आममाफी दिएको छ । नाउपाले कैलालीका तीन र बर्दियाको एक क्षेत्रमा प्रतिनिधिसभाको चुनाव जितेको छ भने प्रदेश र स्थानीय तहमा पनि चुनाव जितेर आफ्नो प्रभाव बलियो बनाएको छ । रेशम पत्नी श्रेष्ठ संघीय सरकारमा भूमि व्यवस्थामन्त्री बनेकी छन् । तर, टीकापुर घटनाका पीडितहरूले न्याय नपाएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया