बारामा तीर्थयात्री चढेको बस दुर्घटना, छ भारतीय र एक नेपालीको मृत्यु

बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना भारतीय र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतको राजस्थान बस्ने ६७ वर्षका बहादुर सिंह, ६० वर्षकी सत्यवती, ७० वर्षका राजेन्द्र चतुर्वेदी, वर्ष ६५ की श्रीकान्त चतुर्वेदी, ६७ वर्षकी बैजन्ती देवी र वर्ष ६५ की मिरा देवीको मृत्यु भएको छ । यस्तै महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षका बिजयलाल पण्डितको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । १७ जना घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय तीर्थ यात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जनकपुर जाँदै गरेको बताइएको छ ।
 

प्रतिक्रिया