सेती नदीको पुल निर्माणमा २८ प्रतिशत भौतिक प्रगति

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत सेती नदी माथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।

‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीन वटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । 

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असाज देखि पुल निर्माण शुरु गरेको थियो । दुई वर्ष अघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माण स्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला शुरु गरिएको हो । निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ ।  

“तीनतिर टावरको काम शुरु भइसकेको छ, चालु आर्थिक वर्ष भित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको छ”, इन्जिनियर नेपालले भने, “जग निर्माणमा समय बढी लाग्यो, अब टावर लगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ ।” उनका अनुसार हालको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्नेछन् । 

एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभाग मार्फत उक्त पुल बन्न निर्माण भइरहेको हो । भ्याट बाहेक ९४ करोडको ठेक्का लागेको हो । उक्त पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण थप बढ्ने आशा गरिएको छ । पुलको डिजाइन आकर्षक रहेको इन्जिनियर नेपालले बताए । 

निर्माणमा कुनै बाधा नआए आगामी एक वर्ष भित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने जनाइएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिक सहितको टोलीले पुलको डिजाइन गरेको थियो ।  
रासस 

प्रतिक्रिया