मनसुन सक्रिय: देशभरका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को आग्रह

आइतबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । भोलि शुक्रबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने जन तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ । अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अहिले मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी चलिरहेका छन् । यातायात आवागमनमा कुनै अवरोध नरहेको तर पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ । डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आज देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही नदीमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । इलाम, झापा, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी र पाल्पा भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । लामो झरीका कारण बाढी र पहिरोको उच्च जोखिम भएकाले नदी किनार र भिरालो जग्गामा बसोबास गर्नेहरुले सर्तकता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।। 
 

प्रतिक्रिया