रा.स्व.पा.का नेताहरूले अदालतको अवहेलना गरेको आरोपको रिट न्यायाधीश शर्मा र निरौलाको इजलासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सांसद तथा नेताहरूले अदालतको अवहेलना गरेको आरोपको रिट निवेदनको आज सुनुवाइ हुँदैछ ।
सो रिटको सर्वाेच्च अदालतका न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं रा.स्व.पा.का सभापति रबि लामिछाने पक्राउ परेपछि रा.स्व.पा.का नेताहरूले अदालतको अवहेलना हुने गरी प्रदर्शन गरेको भन्दै गत कात्तिक १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।
तर सह रजिष्ट्रार अच्युत कुईकेलले रिट दरपीठ गरेका थिए। दरपीठ गरेपछि भट्टराईले दरपीठ बिरुद्ध निवेदन दिएका थिए। सर्वाेच्चका न्यायाधीश बिनोद शर्माको इजजलासले कात्तिक २७ गते उक्त दरपीठ बदर गरी रिट दर्ता गर्न आदेश दिएको थियो। आदेशसँगै सर्वोच्चमा कात्तिक २९ गते रिट दायर भएको थियो ।
लमिछाने पक्राउको मुद्धा विचाराधिन रहेको अवस्थामा र अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई रिहाई गर्नुपर्ने मागसहित खडा गरेको भिडले न्याय प्रक्रियामा अवरोध सृजना गरेको दाबी रिटमा छ ।
रा.स्व.पा.का कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले पोखरामा न्यायाधीशमाथि नै प्रश्न उठाएको पनि रिटमा उल्लेख छ । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । पोखराको सुर्यदर्शन,काडमाडौंको स्वर्णलक्ष्मी,रुपन्देहीको सुप्रिम र चितवनको साहारा सहकारीको रकम अपचलन गरेर गोर्खा मिडियामा लगेको आरोप लामिछानेमाथि छ ।
प्रतिक्रिया