चिसो बढे सँगै कालीगण्डकीमा जलयात्रा बन्द
पर्वत । चिसो बढे सँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाव घटे सँगै असोज देखि शुरु भएको जलयात्रा आइतबार देखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरे सँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए ।
पहिलो याममा सेप्टेम्बरमध्य देखि नोभेम्बर अन्तिम साता सम्म सञ्चालन गरिएको हो । विगतका वर्ष भन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टिङ सञ्चालन गरिएको पुनले बताए । नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्च देखि जुन सम्म अर्को यामको जलयात्रा शुरु हुने उनको भनाइ छ ।
छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा आउने पर्यटक कोभिड सङ्क्रमण पछि यस वर्ष उच्च रहेको सलोम र्याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिए । उनका अनुसार लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदी भन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक सँगै स्वेदशी पर्यटकको पनि आकर्षण पनि बढ्दै गएको उनले बताए ।
कालीगण्डकी नदीमा यस वर्ष तीन हजार भन्दा बढीले जलयात्रा गरेको रेग्मीले बताए । दैनिक दुई–तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिड पछि यस वर्ष उच्च मात्रामा बढेको रेग्मीको भनाइ छ । “यो नदीलाई रोजेर पर्यटक बढी नै आउने गरेका छन्”, उनले भने, “कालीगण्डकीलाई र्याफ्टिङको पहिलो गन्तव्य बन्दै गएको छ । पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका छन् ।”
कुश्मा नगरपालिका–१ पाङ स्थित नयाँपुल र कुश्मा नगरपालिका वडा नं ५ गोपाङघाट बाट शुरु हुने र्याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलासयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानी बाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अष्टेलिया, रसियन, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।
विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक कालीगण्डकीको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् । अमेरिका र अष्ट्रेलिया लगायत नदीमा हुने जलयात्रा भन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो ।
पर्यटकले नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटकले यात्रा तय गर्ने गरेका छन् । यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुश्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठुला ढुङ्गाहरू नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए ।
कालीगण्डकीको दोहन सँगै पछिल्लो समय विभिन्न ठाउँमा डुङ्गा शयरमा समस्या आउने गरेको छ । पर्वत तर्फ निर्माण गरिएको कालीगण्डकी लोकमार्ग र बागलुङ–गुल्मी तर्फको कालीगण्डकी करिडोर बाट खसेका ढुङ्गामाटोले पनि नदी साँघुरिँदै गएकाले पहिलेजस्तो सहज नरहेको पर्यटन व्यवसायी होम पुनले गुनासो गरे ।
रासस
प्रतिक्रिया