गौरा पर्व अबसरमा सुदुरपश्चिम प्रदेशमा आज र भोली सार्वजनिक विदा
उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा सौँ, तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा छ । पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ । यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको हो । गौरा पर्वको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा आज र भोली सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । यो सँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल सहित संबैधानिक निकायका प्रमुख र मुख्य दलका नेताले गौराका अवसरमा शुभकामना दिएका छन ।।
प्रतिक्रिया