अवरुद्ध भएको राहदानी वितरण सेवा सञ्चालनमा

काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा सोमबार बेलुका देखि सञ्चालनमा आएको छ । 

राहदानी विभागले सूचना निकालेर गत बुधबार देखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो । सेवा सञ्चालन भए सँगै अत्यावश्यक परेर विभाग बाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । 

यसैगरी जिल्ला÷इलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचना अनुरूप काम भइरहेकाले  मङ्गलबार देखि परीक्षणको काम शुरू गरिने सूचनामा उल्लेख छ । 

यसअघि आवेदन गरिसकेका अर्थात बायोमेट्रिक समेत भइसकेका सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रिया बाट भइरहेको र सम्बन्धित जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका  नेपाली नियोगहरूमा पठाउन शुरू गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया