सहारा कोही छैन भन्नेका निम्ति सरकार छ : प्रधानमन्त्री ओली
काठमाडौं । सरकारले आज (मंगलबार) सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ । सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ २०७५ मङ्सिर ११ गते भएकाले यसलाई दिवसको रुपमा मनाउने गरिएको छ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री के.पी. शर्मा ओलीले अहिलेको सरकार जनताको सरकार भएको दाबी गरेका छन् । उनले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन् ।
सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र पूर्णता दिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । सामाजिक सुरक्षा कोषमा रोजगारदाता र स्वरोजगारहरुलाई समावेश गरेर पुग्दो र दीगो पेन्सनको सुविधा सुनिश्चित गर्ने काम कोषले गर्दै आएको छ । दीगो र पुग्दो पेन्सन र भरपर्दो स्वास्थ्य उपचारको लागि कोषले काम गर्दै आएको छ ।
श्रमिकको पारिश्रमिक बाट ११ प्रतिशत काट्ने र यसमा रोजगारदाताको २० प्रतिशत थपेर सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन्छ । यसवापत पेन्सन सहित विभिन्न सुविधा कोषले दिदै आएको छ । अहिले सम्म १९ हजार सात सय ६९ रोजगारदाता मार्फत १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ताले रकम जम्मा गरिरहेका छन् ।
अहिले सम्म ६८ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै योगदान रकम जम्मा भएको छ । ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी निवेदन परेको छ ।
प्रतिक्रिया