पूर्वीनाका बाट कृषि वस्तुको आयात भन्दा निर्यात बढी

झापा । पूर्वीनाका काँकडभिट्टा बाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा ७ अर्ब ८२ करोड ५५ लाख ४ हजारको कृषि बाली भारत निर्यात भएको छ ।

आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टा बाट ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार ४ अर्ब ४८ लाखको चिया, १ अर्ब ५५ करोडको अलैँची, १ अर्ब ५ करोडको प्लाई तथा भेनियर,  ३३ करोड ९६ लाखको अम्लिसो २० करोड ५५ लाखको अदुवा, ६ करोड ४८ लाखको बन्दाकोभी, १ करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र  ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदो लगायत कृषि बाली रहेका छन् । चार महिनामा २२ करोड ३१ लाखको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल,  ११ करोड ७ लाखको लसुन, ६ करोड ४४ लाखको कोदो, ५ करोड ३४ लाखको सागसाब्जी र ५ करोड २ लाखको अन्य कृषि बाली आयात भएको छ ।

कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारत सँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने उनी बताउछन् । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च माग सँगै राम्रो मूल्य पाउने गरेको छ ।

पहाडी जिल्ला बाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।
रासस 

प्रतिक्रिया