विमान दुर्घटनामा वाग्नर प्रमुख प्रिगोजिनको मृत्यु

विमान रुसी सेनाले खसालेको वाग्नर र पश्चिमी मुलुकको आरोप

रुसको उत्तर–पश्चिम मस्कोमा भएको विमान दुर्घटनामा वाग्नर सेना प्रमुख येभगेनी प्रिगोजिन मारिएको पुष्टि भएको छ । विमानमा रहेका सात यात्रुसहित तीनजना चालक दलका सदस्यको मृत्यु भएको हो  । रुसको उड्डयन निकायले सात जना यात्रुको पहिचान गरी उनीहरुको नाम सार्वजनिक गरेको हो । प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकर्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको छ । दिमित्री वाग्नर समूहका सहसंस्थापक हुन् । चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को–पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा को पनि मृत्यु भएको छ ।वाग्नर समूह र पश्चिमा देशले रुसले नै प्रिगोजिन चढेको विमान खसालेको आरोप लगाएका छन् । विमान दूर्घटना भनिए पनि योजनावद्ध रुपमा प्रिगोजिनको हत्या गर्न रुसी सेनाले खसालेको अनुमान गरिएको छ । यस वर्ष जुनमा प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रूसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो । प्रिगोजिनले गत जुनमा रुसी सेनाविरुद्ध असफल सैन्य विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि राष्ट्रपति पुटिनसँग उनको सम्बन्ध बिग्रिएको थियो ।
 

प्रतिक्रिया