मुद्दा चल्ने प्रमाण नभेटिएपछि पूर्वमन्त्री अधिकारी रिहा

काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनी रिहा भएका हुन् । 

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

पछि उनी सहित ४ जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई  कात्तिक २६ गते पक्राउ गरेको थियो ।

आधार र प्रमाणहरु हेर्दा उनलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै सरकारी वकिलले अन्य ११ जना विरुद्ध मात्रै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया