सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।
अस्ट्रेलियाका पूर्वक्रिकेटर हज सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजलाई सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका थिए । खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका हजसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ ।
रोयल्सले एनपीएलका लागि ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) लाई अनुबन्ध गरेको छ ।
त्यस्तै, टिममा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् । यस्तै, ट्यालेन्ट हन्टबाट सुदूरपश्चिम रोयल्सले आइकनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छानेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) १५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया