‘खेल क्षेत्र राष्ट्रको इज्जत’

काठमाडौं । नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताएकी छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८१ का अवसरमा आज आयोजना गरेको ‘खेलकुदमा लैङ्गिक न्याय’ विषयक अन्तरक्रियामा उनले खेल क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताएकी हुन् ।

“महिला खेलाडीहरु आज युरोपको मैदानमा खेलिरहेका छन्, राष्ट्रका लागि यो गौरवको विषय हो”, सचिव अर्यालले भनिन्, “खेल क्षेत्रमा देखिएका समस्या सरकारले समाधान गर्न सक्छ, खेलाडीको बीमा, पुरस्कार र सम्मान कार्यक्रम सरकारले सुरु गरिसकेको छ ।”

महिला खेलाडीलाई आर्थिक र घर व्यवहार मिलाएर खेल खेल्न कठिनाई हुँदाहुँदै पनि व्यवसायिक दक्षता हासिल गरी राम्रो खेल प्रदर्शन गर्नु महत्वपूर्ण भएको उनको भनाइ छ । मुलुकको व्यवस्था परिर्वतनमा महिलाको अतुलनीय भूमिका रहेको उनले स्मरण गराइन् ।

कार्यक्रममा रेफ्री चन्द्रबन्दना राईले महिला खेलाडीले आफ्नो दक्षता ऊर्जागर गर्ने वातावरण एकदमै कम भएको र विवाह गरेपछि खेल क्षेत्रलाई निरन्तरता दिन नसकेको अनुभव बताइन् । 

अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘महिला हिंसाविरुद्ध सँगसँगै’ भन्ने नाराका साथ महिलाविरुद्ध हुने हिंसा निवारणमा समाजका हरेक तह र तप्काका व्यक्ति वा संस्थाहरु एकतावद्ध हुनुपर्ने बताए ।

सो अवसरमा महिला खेलाडीलाई एमाले सचिव अर्यालले जर्सी प्रदान गरी सम्मान गरिएको थियो ।

प्रतिक्रिया