अफवाह फैलाउने १० युट्युब च्यानल सहित फेसबुक पेज कारबाहीमा

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ ।

तीमध्ये अधिकांश दर्ता÷सूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता÷सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ ।

काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ । 

अनुगमनाका क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिइ प्रकाशन÷प्रसारण गर्ने युट्युब च्यानल प्रयोगकर्तामाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाइ कारबाही प्रक्रियाअघि बढाएको छ ।

यही मङ्सिर ४ गते यस्तै खालका ९ युट्युब च्यानल र पेज प्रयोगकर्तालाई काउन्सिलले कारबाही गरेको थियो ।

प्रतिक्रिया