गिरीबन्धुबारे संसदमा सत्ता र विपक्षीबीच आरोप प्रत्यारोप

 झापाको गिरी बन्धु टीस्टेटको विषयमा सत्ता र विपक्षीबीच संसदमा आरोप प्रत्यारोप भएको छ। बुधबार संसदको विशेष समयमा कांग्रेस सांसद रामहरि खतिवडाले गिरीबन्धु टी स्टेटमा ललिता निवास जग्गा काण्डमा भन्दा ठूलो भ्रष्टाचार भएकाले छानबिन हुनुपर्ने उल्लेख गरे।

केपी ओली प्रधानमन्त्री भएका बेला २०७८ माघमा गिरी बन्धु टी स्टेटको जग्गा साट्न मिल्ने गरी कानुन संशोधन गरेपछि १९७ विघा जग्गा बेचिएको छ। त्यसमा तत्कालीन प्रधानमन्त्री ओलीको स्वार्थ रहेको दाबी गरिँदै आएको छ। खतिवडाले ललिता निवासमा भन्दा ठूलो भ्रष्टाचार गिरीबन्धुमा भएको दाबी गरे।

खतिवडाको भनाइ चुनौती दिँदै एमाले सांसद गोकुल बास्कोटाले छानबिन गरेर देखाउन चुनौती दिए। बास्कोटाले भने, ‘जरासम्म पुगेर छानबिन गर्नुहोस्। सत्ता पक्ष स्टन्ट मच्चाइ रहेको छ। पूर्व देखाएर पश्चिम हान्ने काम नहोस्।’

सम्पादकहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरी बन्धुको छानबिन हुन्छ भनेको विषयलाई उल्लेख गर्दै बास्कोटाले सत्तामा हुनेले छानबिन गरेर पाता कसे हुन्छ भन्दै चुनौती दिए।

 

प्रतिक्रिया