पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै प्रदर्शन, सयौं पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी इस्लामावादमा मात्रै दशौं हजार समर्थकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । 

प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र खान समर्थक प्रदर्शनकारीबीच झडपहरू भएका छन् । त्यसक्रममा प्रहरीले प्रदर्शनकारविरुद्ध अश्रु ग्यास हान्नुका साथै सयौंलाई पक्राउ गरेको छ ।

इस्लामावादको प्रदर्शन तथा ¥यालीको नेतृत्व खानकी पत्नी बुशरा बीबीले गरेकी छन् । त्यसक्रममा बीबीले पूर्वप्रधानमन्त्री खानलाई रिहा नगरिएसम्म प्रदर्शन जारी रहने बताएकी छन् । ’जबसम्म खान हामीबीच आउँदैनन्, हामी यो विरोध प्रदर्शन अन्त्य गर्दैनौं,’ उनले भनिन् । 

जनवरीमा खानसँगै सजाय सुनाइपछि जेल परेकी बीबी अक्टोबर अन्त्यमा जमानतमा रिहा भएकी हुन् । ’यो मेरो श्रीमानको मात्र कुरा होइन, यो देश र यसका नेताको कुरा हो,’ ¥यालीलाई सम्बोधन गर्दै उनले भनिन्, ’म मेरो अन्तिम सास सम्म उभिनेछु र तपाईंहरूले मलाई साथ दिनुपर्छ ।’

देशका विभिन्न स्थानबाट खानका समर्थकहरू भेला हुन थालेपछि अधिकारीहरूले राजधानी जोड्ने राजमार्गहरू अवरुद्ध गरेका छन् । कतिपय क्षेत्रमा मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

खानको पार्टी पाकिस्तान तेहरिक–ए–इस्लाम (पीटीआई) को गढ रहेको खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अली अमीन गण्डापुरको नेतृत्वको विशाल ¥याली आइतबार दिउँसो पेशावरबाट इस्लामावादतर्फ अघि बढेको थियो । पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार उक्त ¥याली केही घण्टामा नै इस्लामावाद पुग्ने जनाएका छन् । 

यसअघि खानले आफ्ना समर्थकहरूलाई अन्तिम विरोधका लागि आग्रह गरेका थिए । सरकारले आफ्ना मागहरू सम्बोधन नगरेसम्म खानले समर्थकहरूलाई राजधानीमै बस्न आव्हान गरेका छन् ।

आइतबार राति पनि खान समर्थकहरूले कतिपय स्थानमा खानको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।

७२ वर्षीय खानले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका छन् । तर उनले आफूमाथि सुनियोजित तवरले मुद्दा लगाइएको बताउँदै आएका छन् । कानुनी रूपमा दोषी ठहर गरिएको भएपनि उनी पाकिस्तानमा अझै लोकप्रिय छन् ।

गत सेप्टेम्बरमा पनि दशौं हजार खान समर्थकले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । खानको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू राजधानी इस्लामावादतर्फ अघि बढेपछि सरकारले जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । तर प्रदर्शनकारीले सरकारी प्रतिबन्धको उल्लंघन गरेका थिए ।

प्रतिक्रिया