पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार प्रदेश सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।
अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सो प्रकरणमा तीन जना फरार छन् ।
अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै बेला जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को सात दिने कार्यक्रममा भाग लिन कात्तिक ११ गते जापान गएका थिए ।
कार्यक्रममा लैजाने चाँजोपाँजो मिलाएकाले उनीसहित जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापान पठाएपछि अधिकारीकै सूचनाका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।
अधिकारीले नै जापान पुगेर सो प्रकरणबारे जानकारी दिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । प्रहरीले भने अधिकारीसहित १२ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो ।
प्रतिक्रिया