उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउका छन् ।
‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौंद्वारा आज विराटनगरमा आयोजित उखुखेती प्रवद्र्धनका लागि किसानको सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उखु उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिनाभित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफलसहित निष्कर्ष निकाली सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिए । उनले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गरे ।
तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्की बताउछन् ।
प्रतिक्रिया