कोशी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरु नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए  । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरेका हुन् ।।

यसैबीच, कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गरेका छन् ।।

प्रतिक्रिया