जब न्यायाधीशले रविलाई भने- नआत्तिनुस् निर्दोष पनि हुन सक्नुहुन्छ
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । सभापति लामिछानेलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले पाँचौ पटक म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार अदालतको इजलासमा रवि लामिछाने र न्यायाधीशबीच केहि समय दोहोरो संवाद भयो । जुन संवाद सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।
सभापति लामिछाने र न्यायाधीशबीच भएका कुराकानीमा लामिछानेले आफुलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न प्रस्ताव राखे । ९० दिनसम्म हिरासतमा राख्न खोजेर आफुमाथि प्रतिशोध साँधिएको बताउँदै हिरासतमुक्त गरेर अनुसन्धान गर्न न्यायाधीशलाई माग गरेका थिए ।
न्यायाधीश र रविबीच भएको संवाद
न्यायाधीसलाई रविले भनेका थिए, ‘संसारमा राम्रो जीन्दगी बाँचेर आएको मान्छे, यो देशमा केही गर्छु भनेर अमेरिकी पासपोर्ट बुझाएर, यो देशको सेवामा लागेको मान्छे म भागेर कहाँ जाउँला र श्रीमान । म जतिबेला पनि उपस्थित हुन सक्छु । मलाई हिरासत बाहिरै राखेर अनुसन्धान गरियोस् ।’
न्यायाधीशको जवाफ, ‘यो बिचको अवस्था हो, यसमा शुरुको अवस्थामा छुट्टै हुन्छ, अनुसन्धानको अवस्थामा छुट्टै हुन्छ, म्याद थप्ने अवस्थामा अर्कै हुन्छ । यसलाई त्यहि रुपमा बुझ्नुपर्छ । अहिले दोषी भएँ भनेर निराश हुनुपर्ने अवस्था छैन, भोली निर्दोष हुन सक्नुहुन्छ । यो पक्रियालाई चाहीँ सघाउनुपर्यो ।’
त्यसपछि फेरी रविले भने, ‘हस् श्रीमान, तर मलाई थुनिरहन पर्छ जस्तो लाग्दैन श्रीमान, सबैभन्दा धेरै मतदाताको मन जितेर प्रतिनिधिसभा सदस्य भएर आएको छु । म आज आशाको साथ आएको छु श्रीमान । हिरासत बाहिरैबाट म अनुसन्धानलाई सघाउछु ।’
न्यायाधीशले जवाफमा भने, ‘थुनछेकको क्रममा छोड्ने राख्ने कुरा हुन सक्छ । तर तपाईँलाई यहाँबाट छोडेपनि अर्को ठाउँमा यहि प्रकरणमा पक्राउ पूर्जी जारी भइसकेको छ, त्यहाँबाट पक्राउ भइहाल्नुहुन्छ ।’
त्यसपछि रविले भने, ‘श्रीमान अन्याय भएको छ ममाथि । त्यहि भएर तपाईँसँग डिबेट गर्न पनि डर लाग्छ । तर तपाईँमाथि पूर्ण आशावादी छु श्रीमान ।’
न्यायाधीशले जवाफमा भने, ‘मैले छोडेर के गर्नु तपाईँलाई समाएर फेरी अर्को जिल्ला लगिहाल्छ । अनुमति दिएको छ अरु जिल्लाबाट पनि । मैले छोडेर कुनै औचित्य नै हुन्न । कसमेकम यहिँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केशको क्रममा ति केश पनि सकिन्छन् ।’
फेरी रविले भने, ‘जे जे बाहिर भनिएका छन्, त्यहित्यहि पुग्दै जाँदा, ठाउँठाउँमा मुद्दा, मान्छेलाई फरार गर्दै मुद्दा लगाउँदै जाँदा खेरी अपमान भएको छ श्रीमान । यहाँ नभने कहाँ भनौँ र ?’
अन्त्यमा न्यायाधीशले रविलाई भने, ‘अहिले म दोषी भएँ नी भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन। अनुसन्धानको चरण हो निर्दोष पनि हुन सक्नुहुन्छ नी ।’
अन्त्यमा रविले भने, ‘त्यस्तो भएछ भने म जान्छु नि श्रीमान । तर मलाई बाहिर रहेर अनुसन्धानमा सहयोग गर्न दिनुहोस्। मलाई अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भनेपनि छोड्दिन। तर, मलाई हिरासत बाहिर राखियोस् ।’
प्रतिक्रिया