प्रधानमन्त्री ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीका औपचारिक भेटघाट कार्यक्रमहरु भने सबै मंसिर १८ गतेका लागि तय भएका छन । मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । सोही दिन उनले अरु विशिष्ठ अधिकारीसँग भेट गर्ने भएका छन् । त्यसैगरी भ्रमणका क्रममा हुने सबै सम्झौता लगायतका कार्यक्रमहरु पनि सोही दिन हुने कार्यक्रम रहेको बताइएको छ ।
त्यसैगरी १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । साथै त्यसैदिन नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सोही दिन नै प्रधानमन्त्री ओलीले चीनको एक विश्वविद्यालयमा प्रवचन दिने पनि कार्यक्रम रहेको छ । प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया