अपाङ्ग महिला सशक्तीकरण केन्द्रद्वारा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण
गण्डकी । अपाङ्ग महिला सशक्तीकरण केन्द्र, कास्कीले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सरकारी सेवा प्रवाहमा उनीहरूको सहज पहुँच एवम् अपाङ्मैत्री पूर्वाधार लगायतका विषयमा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।केन्द्रले आज आइतबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाशबहादुर केसीलाई अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक विषय समेटिएको छ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
केन्द्रकी अध्यक्ष अन्जना केसीद्वारा हस्ताक्षरित ज्ञापनत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका– २०६९ अनुरुप निर्माण हुनुपर्ने र त्यसको कार्यान्वयनका लागि ८५ वटै पालिकालाई पत्राचार गरिनुपर्ने माग गरिएको छ ।
अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयलाई अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउनुपर्ने, पहुँचयुक्त सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने, फुटपाथसहित सडक संरचनालाई अपाङ्गतामैत्री बनाउनुपर्ने, सरकारी संरचनाको पहुँचयुक्तता परीक्षण गरी सुझावअनुसार पहुँचयुक्त बनाउनुपर्ने र नयाँ बन्ने सबै पूर्वाधार अपाङ्गमैत्री हुनुपर्ने केन्द्रले माग गरेको छ ।
ज्ञापनपत्र बुझेपछि मन्त्री केसीले कानुनमा भएका तर कार्यान्वयन नभएका विषयलाई कार्यान्वयन गर्न सक्दो प्रयास गर्ने बताए । अपाङ्गमैत्री पूर्वाधार, अपाङ्गमैत्री कानुन बनाउने विषयमा प्रदेश सरकारलाई निरन्तर खबरदारी गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया