बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताएका छन् । भक्तपुरको गट्ठाघरमा कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन लुम्बिनीले संयुक्त रुपमा आज आइतबार आयोजना गरेको ‘भगवान् बुद्धलाई कसरी चिन्ने रु’ विषयक ‘बुद्ध दर्शन सम्बन्धित एकदिवसीय अन्तर्राष्ट्रिय धम्म सम्मेलन’को उद्घाटन गर्दै मन्त्री पाण्डेले बुद्धले छरेका ज्ञानको माध्यमबाट विश्वभरि शान्ति स्थापना गर्न र हामी एउटै भाइकुटुम्ब हौँ भन्ने बुझ्न सकिने उल्लेख गरे । मन्त्री पाण्डेले बुद्धको शिक्षालाई गहिराइमा बुझेर त्यसको ज्ञानलाई व्यावहारिकरुपमा उपयोग गर्नुपर्ने बताए ।
बुद्ध नेपालमा जन्मेकामा गर्व गर्ने तर बुद्धको ज्ञानको अनुशरण नगर्ने हुँदा यसको अर्थ नरहने उल्लेख गर्दै उनले बुद्धको ज्ञानको अनुशरण गर्ने र शान्तिको सन्देश फैलाउने कार्य नेपालबाट हुनुपर्ने बताए ।नेपाल आध्यात्मिक क्षेत्र भएको र यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक धरातललाई अनुभूति गरेर फर्कन मन्त्री पाण्डेले सहभागीलाई आग्रह गरे । “बुद्धत्वसँगै यहाँको सनातन धर्मका बारेमा बुझेर फर्कन आग्रह गर्छु”, उनले भने । मन्त्री पाण्डेले भने, “नेपालको संस्कृति र प्रकृति विविधतापूर्ण छ । यहाँ हिमालका नागरिक तराई र तराईका नागरिक हिमाल, पूर्वका नागरिक पश्चिम र पश्चिमका नागरिक पूर्व जानसक्ने, रहनसहनमा भिज्न सक्ने र धर्म, कला, संस्कृतिलाई आत्मासात् गर्दै बन्धुत्व प्रकट गर्ने परम्परा तथा संस्कृति छ, यसलाई चिन्न जरुरी छ ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष महेन्द्रबहादर पाण्डेले विश्वमा युद्ध र त्रास बढिरहेको वर्तमान समयमा बुद्धको विश्व शान्तिको सन्देश विश्वभर फैलाउनुपर्ने बताए । उनले भने , “आजको संसार त्रासमा उभिएको छ । त्यसैले हामी बुद्ध जन्मेको देशका नागरिक र बुद्धको ज्ञान प्राप्त गरेका नागरिक मिलेर संयुक्तरुपमा बुद्धको विश्व शान्तिको सन्देश फैलाउन आवश्यक छ ।”सम्मेलनमा थाइल्यान्डका प्राध्यापक, अनुसन्धानका अध्येता, बौद्ध दर्शनसँग सम्बन्धित अध्येता, बौद्धमार्गीलगायत विभिन्न देशका बौद्धमार्गी, क्याम्पसका कर्मचारी, विद्यार्थीलगायतको सहभागिता रहेको क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया