नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छ : सभामुख घिमिरे

काठमाडौं ।  सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन्।

कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए । सभामुख घिमिरेले नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश, द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरेका थिए ।

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्रा ऐतिहासिक मोडका रूपमा रहेको पनि बताएका छन् ।  

जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।

शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिएका थिए। समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई सभामुख घिमिरेले विश्वसामु प्रस्तुत गरेका थिए । 

सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनःदोह¥याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरेका छन् । 

प्रतिक्रिया