रबि लामिछानेलाई अनुसन्धानका लागि १५ दिन म्याद थप
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलाई यो पाँचौँ पटक म्याद थप गरिएको हो । लामिछानेलाई म्याद थप पछि यही हप्ता काठमाडौं ल्याउने तयारी कास्की प्रहरीको छ ।
लामिछानेलाई काठमाडोंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको हो ।यसअघि उनलाई रुपन्देहीको बुटवल स्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखरा बाट रुपन्देही लगेर बयान लिइएको थियो ।
लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराधको कसुरमा गत कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको हो । रुपन्देही,चितवन,पोखरा र काठमाडौका सहकारीबाट सर्वसाधारणको बचत रकम अपचलन गरेको अभियोग लामिछानेमाथि छ ।
प्रतिक्रिया