उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न हुँदैन : उपपधानमन्त्री सिंह
काठमाडौं । उपपधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने उल्लेख गरेका हुन् ।
फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्नसक्छौं ? भन्दै प्रश्न समेत गरे ।
उपप्रधानमन्त्री सिंहले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृति गलत भएको पनि बताए । फोहोर व्यवस्थापनको विषयमा हुने छलफल मात्र समाचारका शीर्षक बन्ने गरेको भन्दै छलफल पछि चालिएका कदमहरु बारे समेत समाचार बन्नुपर्नेमा उनको जोड थियो ।
सङ्घीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने मन्त्री सिंहले बताए । उनले फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको पनि बताए ।
प्रतिक्रिया