चार देशिय महिला टी–ट्वान्टी आई सिरिजमा नेपालको बिजयी शुरुवात

नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा विजयी सुरुआत गरेको छ । आज वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३६, ओपनर पूजा महतोले १६, कप्तान रुबिना क्षेत्रीले १० र इन्दू बर्माले ९ रन जोडिन । हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले एक–एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव १ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो । हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४, डोरोथिया चानले १६ रन बनाईन् । नेपालका लागि सीता रानामगरले ५, इन्दू बर्माले २ तथा कप्तान रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट लिए । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेका हुन् । नेपालले अगष्ट २३ अर्थात भोलि कुवेत र २५ अगष्ट अर्थात आगामी शुक्रबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुईमा पुग्ने टोलीले २६ अगष्टमा फाइनल खेल्नेछन् ।।

प्रतिक्रिया