रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।

रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा  व्यावसायिक रुपमा जुनारखेती गरेका छन् ।  गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो वर्ष २ लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष ३ लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको उनले बताए । 

रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन् ।  गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनले बताए । “गत वर्ष मैले जुनार बिक्री गरेर ७० हजार मात्र लिन सकेको थिएँ, यस वर्ष १ लाख सम्मको बिक्री हुने अनुमान छ”, उनले भने । 

सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङ लगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् । जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ । 

परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरण जस्ता सामग्री समेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेका मध्ये जुनार ४ सय २२ दशमलव ४, सुन्तला ७८ र कागती २० दशमलव ८ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ ४ हजार ३ सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई १९ करोड ९३ लाख ९५ हजार बराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताए । 

यस वर्ष ४ सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा ४ हजार ४ सय एक मेट्रिक टन उत्पादन हुँदा २२ करोड ६८ हजार बराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचा बाट नै जुनारको दानाको साइज अनुसार प्रतिकिलो  ६० देखि ७५ सम्ममा बिक्री गर्ने गरेका छन् । 
रासस 

प्रतिक्रिया