बेर्ना बेचेर एकै याममा २ लाख आर्जन

म्याग्दी । विगत ४१ वर्ष देखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन् ।

जिल्लाको पर्यटकीय स्थल लभ्लीहिल सँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ ।

दैनिक ६० जना भन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए । मङ्सिर पहिलो साता सम्म विरुवा बिक्री गरेर उनले २ लाख भन्दा बढी आम्दानी गरेको जानकारी दिए ।

“हालसम्म २ लाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उनले भने। उनको परिवारका चार सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ । बेर्ना सँगै उनले सागसब्जी पनि लगाएका छन् । जैविक उत्पादन भएकाले ती खरिद गर्न उनको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उनका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् । 

सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर, भकुण्डे, गौश्वारा, बगरफाँट, पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले, बान्द्रे लगायतका स्थान बाट किसान आउने गरेका छन् । उनले एक याममा बेर्ना बेचेर २ लाख भन्दा बढी आर्जन गर्दै आएको बताए । 

दुई रोपनी जग्गामा उनको नर्सरी फैलिएको छ । “बीउ र मलमा ३० हजार देखि ४० हजार सम्म लगानी हुन्छ । एकै सिजनमा २ लाख देखि तीन लाख सम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भने ।
रासस 

प्रतिक्रिया