विमला सुवेदी भन्छिन्- विवाह गर्ने उमेर घटाउनु पर्ने माग आयो
काठमाडौं । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आफूहरुलाई विवाह गर्ने न्यूनतम उमेर घटाउनुपर्ने माग आएको बताएकी छिन् ।
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति सुवेदीले समितिले केही समय अघि देशभरका १० कारागार तथा ३ बाल सुधारगृहको अनुगमन गर्दा बालविवाहकै कारण धेरै बालबालिका जेलमा परेको पाएको र सो क्रममा उमेर घटाउन माग आएको उनको भनाइ थियो ।
बाल विवाहलाई सामाजिक समस्याको समाधानमार्फत् सुवेदीले पनि बालविवाहको रोकथामका लागि जरासम्मै पुगेर समाधान खोज्नुपर्नेमा जोड दिइन् ।
काठमाडौंमा शनिबारदेखि शुरु भएको उक्त भेला बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाहरु मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशियाली पहल (साइवाग) रहेका छन् ।
उक्त भेलामा लागि देशका सातवटै प्रदेशमा बाल अधिकारको क्षेत्रमा काम गरिरहेका बालबलिकाका प्रतिनिधिहरुका साथै आयोजक एवं बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्य संघ संस्थाका प्रतिनिधि तथा विज्ञहरुको सहभागिता रहेको छ ।
प्रत्येक प्रदेशबाट तीन-तीन जना समेत गरी २१ जना तथा विभिन्न अल्पसंख्यक समुदायबाट थप १० जना समेत गरी ३१ जना बालबालिकालाई समेत सहभागी गराएर कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिक्रिया