समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन् ।
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उहाँले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखेका हुन् ।
विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताए ।
प्रतिक्रिया