सरकारमा हुँदापनि सडकमा आउँने एमालेको इतिहास, किन डराउँछन् ओली अराजसँग?

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेपछि सो पार्टीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै निरन्तर विरोध प्रदर्शन गरिरह्यो ।

आफ्ना सभापतिलाई प्रहरीले पक्राउ गरेको दोस्रो दिनबाटै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । देशभरबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा सरकारविरुद्ध आन्दोलन मात्र गरेन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको इतिहासमा हामसम्मकै भ्रष्टाचारी सरकार भएको आरोप समेत लगायो । आफ्ना सभापतिलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै प्रधानमन्त्री ओली विरुद्ध रास्वपाले अनेकन आक्षेप लगायो । सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको व्यक्तिलाई कानुनी कारबाही गर्दा अनुसन्धान र न्यायालयलाई प्रभावित पार्ने किसिमले दबाब दिने खालको आन्दोलन गरेको भन्दै रास्वपाको त्यो कदम विरुद्ध सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस प्रतिरोधमा उत्रिएका थिए । 

सरकारको प्रतिरोध र चौतर्फी विरोध हुँदापनि रास्वपाले आफ्नो आन्दोलनलाई स्थगित नगरी झन् आक्रामक अगाडी बढायो । आन्दोलन गर्दा निषेधित क्षेत्र तोडफोड गरेर सुरक्षामा खटिएका प्रहरीसँग झडप गर्ने अवस्थामा रास्वपाका कार्यकर्ता पुगे । सभापति पक्राउको आवेगमा आन्दोलनमै रास्वपा कार्यकर्ताले आफ्नै पार्टीका नेतामाथि निर्घात कुटपिट समेत गरेका थिए । सभापति लामिछानेलाई हिरासतमुक्त गर्नुपर्ने भन्दै रास्वपाले आन्दोलन नरोकेपछि पोखराका सहकारी पीडित पनि रास्वपाको आन्दोलन विरुद्ध निरन्तर प्रदर्शन गर्न थाले । सरकारको प्रतिरोध र सहकारी पीडितको प्रदर्शनले विस्तारै केहि दिनपछि रास्वपा कार्यकर्ताले आन्दोलनलाई साथ दिएनन् । बाहिर जिल्लाबाट आएका रास्वपा समर्थकहरु पनि आन्दोलनमा सहभागी नभएपछि सरकारलाई देखाउने भनेको शक्ति प्रदर्शन योजना अनुसार सफल नहुँदा पोखरा छोडेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागी हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा नारा जुलुस गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको भन्दै सत्तापक्षले त्यसको प्रतिरोध गरको थियो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अराजकता मच्चाएको र न्यायालयलाई प्रभावित पार्न खोज्ने जस्ता कार्य स्वीकार नभएको अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओली र एमाले विरुद्ध रास्वपाका कार्यकर्ता सामाजिक सञ्जालदेखि सडकसम्म विरोध गर्न थाले । रास्वपा कार्यकर्ता प्रधानमन्त्री ओलीरिुद्ध सामाजिक सञ्जालमा हेर्न र पढ्न नसकिने खालका शब्द प्रयोग गरेर गालीगलौजका उत्रिए । त्यसपछि रास्वपा विरुद्ध आक्रोेशित भएका ओली अन्ततः सडक आन्दोलन गर्ने अवस्थामा पुगेका हुन् ।

राजनीतिक स्थिरता दिन, अराजकताका विरुद्ध, विधिको शासन कायम गर्न र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्ने मूख्य एजेण्डा बाकेर नेकपा एमाले सडक आन्दोलनमा होमिएको थियो । सरकारमा हुँदा उठिरहेका प्रश्नहरुको जवाफ कार्यसम्पादनबाट दिन छाडेर ओली सडक आन्दोलन गर्ने निर्णयमा पुगे । जनताले उठाएका प्रश्नको जवाफ सरकारले सेवासुविधा, विकास निमार्ण, रोजगारी सिर्जना, सुशासन र कामबाट दिने हो । सरकारमा कांग्रेस पनि भएकाले जनताले उठाएका प्रश्नको एमाले एक्लैले चिन्ता लिनुपर्ने विषय नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर, सरकार एमाले कांग्रेसको भएपनि सामाजिक सञ्जालदेखि विपक्षी दलले एमालेलाई आक्रमण र प्रहार गरेको ओली निकट नेताहरुको भनाइ छ । एमाले विरुद्ध भ्रामक र दुष्प्रचार गरेर अराजकता मच्चाएको र एमालेलाई सक्काउनको लागी परिचालित भएर अनेकन आरोप लगाएपछि अफवाह फैलाउनेहरुलाई खबरदारी गर्न जागरण सभा गरिएको एमाले नेताहरु बताउँछन् । 

संसद्का दुई ठूला दलहरू मिलेर चार महिनाअघि केपी ओलीको नेतृत्वमा करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन गर्ने क्रममा आम जनतामा व्याप्त निराशा पनि चिर्ने दाबी गरिएको थियो । तर सरकारका कतिपय कामकारबाहीबारे पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना बढेको छ । सरकारले जनअपेक्षा अनुसार काम नगर्दा सत्ता बाहिर रहेका राजनीतिक दलले सरकारलाई खबरदारी गर्छन् । तर, पछिल्लो समय नेपालको राजनीतिमा पृथक खालको माहोल सिर्जना भएको हो । यस्तो प्रकारको माहोल नेपालमा प्रायः कमै देखिने गरेको छ । सत्तारुढ दल नेकपा एमाले सरकारमा हुँदा पनि सडकमा उत्रिएपछि देशभर चर्चाको विषय बनेको हो । सरकारको नेतृत्व गरेको राजनीतिक दलले जनताको माग अनुसार काम गर्नु पर्ने हो । तर, एमालले आफै सडकमा कार्यकर्ता उतारेर रमिता देखाएको हो । सरकार र प्रधानमन्त्री ओलीमाथि भइरहेका ‘प्रहार’ र आक्रमणको प्रतिरोधका लागि सडकमा उत्रिएको एमालेको भनाइ छ ।

“एमालेको जागरणसभा प्रदर्शन समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने उद्देश्यले आयोजना गरिएको हो । अहिले एक किसिमका अराजकतावादीहरूले एउटा निराशा पैदा गर्ने, समाजमा विखण्डन ल्याउने, राज्यका कुनै अङ्गको गतिविधिलाई अस्वीकार गर्ने, निर्णयहरू नमान्ने, ’प्रधानमन्त्रीलाई मार्छौँ भन्नेसम्मको अराजकता देखा पर्‍यो । सार्वजनिक अपील गरेर यो झुटो हो र यो सत्य हो भन्न एमाले सडकमा आएको हो,” ओली निकट एक नेताले भने ।

सरकारले राम्रो काम गरेको छैन् भन्दैमा देशको प्रधानमन्त्रीलाई मार्ने कुरा गर्ने र ओलीले विदेशमा पैसा राखेका छन् भनेर अफवाह फैलाउने, एमालेमाथि जनतामाझ भ्रम सिर्जना गरेर अपराधीकरण जस्ता काम गरेपछि जनतालाई सूसूचित गर्नका लागी जागरण सभा गरेको एमालेको निष्कर्ष छ । विपक्षी दल र समाजमा भ्रम फैलाउनेहरुले सरकारलाई नभएर एमाले लक्षित प्रहार, आक्रमण र  आन्दोलन गरेपछि लोकतन्त्रमा एमालेले पनि सडकमा आफ्ना कुरा राखेको प्रधानमन्त्री ओली निकट नेताहरु भन्छन् ।

सरकारमा हुँदापनि सडकमा उत्रिने एमालेको इतिहास
सरकारको आलोचना गर्ने पक्षमाथि सत्ताधारी दल नै सडकमा उत्रिएर विरोध जनाउने अभ्यास नौलो होइन् । आम रूपमा सरकारमा हुने पार्टीले सरकारका कामकारबाहीबारे सर्वसाधारणमा उठिरहेका प्रश्नको जवाफ दिन र आफु कमजोर छैनौँ भनेर देखाउन पनि यस्ता प्रदर्शन सभा गर्ने परम्परा पहिले देखिकै हो । सरकारको नेतृत्वमा भइरहँदा वा सत्ताबाहिरै रहँदा पनि सडकमा उठेका कतिपय प्रदर्शनको प्रतिवादमा प्रदर्शन गर्ने अभ्यास एमालेका लागि नौलो विषय चाहिँ होइन । एमालेको उदय नै जनसङ्घर्षहरूको माध्यमबाट भएको हो । विभिन्न समयमा पार्टीले जनपरिचालनका कार्यक्रम गर्ने अर्काको सरकार हुँदा पनि र आफ्नो सरकार हुँदा पनि सडक आन्दोलन गर्ने एमालेको परम्परा छ । 

संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि विसं २०५२ सालमा पनि एमालेले सत्तामा रहँदै सडक आन्दोलन गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकार ढलेपछि माओवादीले देशभरिबाट कार्यकर्ता उतारेर विसं २०६७ वैशाखमा काठमाडौंमा अनिश्चितकालीन हडताल र घेराउ गरेको थियो ।

माधवकुमार नेपालको नेतृत्वमा सरकारमा रहेको एमालेले माओवादी घेराउको प्रतिकारका लागि आफ्नो युवा सङ्गठन यूथ फोर्सको अगुवाइमा प्रतिकार आन्दोलन चलायो । सरकारमै रहेको दलको अगुवाइमा निस्किएको प्रतिकार जुलुसले विपक्षी माओवादी हड्ताललाई एमालेले पाँचौँ दिनबाटै कमजोर बनाइदियो । कुनैपनि राजनीतिक दलले सरकार विरुद्ध र राष्ट्रको हित विपरित कार्य गर्छ, भने त्यस्तो अवस्थामा एमाले सरकारमा हुँदा होस् वा सत्ताबाहिरै हुँदापनि सडक आन्दोलनमा उत्रिने गरेको इतिहास छ । सडक आन्दोलनले विपक्षीका आन्दोलनलाई कमजोर बनाउने एमालेको इतिहास पछिल्ला केहि वर्षमा भने देखिएको थिएन् । अहिले पनि एमालेले रास्वपाको सरकार विरोधि आन्दोलनलाई कमजोर बनाउन र एमालेमाथि भइरहेको आक्रमण रोक्नको लागी जागरण सभा गरेको कतिपयको भनाइ छ ।

हिजो मंसिर ७ गते एमालेले काठमाडौंको दरबारमार्गमा वृहत जागारण सभा गरेको थियो । सरकारका हुँदापनि सडक आन्दोलन गर्दा प्रधानमन्त्री ओली र एमालेको आलोचना भइरहेको छ ।

प्रतिक्रिया