त्रिविको पुस्तकालयमा अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित
त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको हो । पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको पुस्तकालयको भनाइ छ ।
मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।
पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको त्रिवि केन्द्रिय क्याम्पसको विद्यार्थी युनियनले जनाएको छ ।
त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरिएको हो । पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
प्रतिक्रिया