भारतको महाराष्ट्र र झारखण्ड राज्यको विधानसभा चुनावको आज मतगणना जारी
एजेन्सी । भारतको महाराष्ट्र र झारखण्ड राज्यको विधानसभा चुनावको आज मतगणना जारी छ । भारतको महाराष्ट्र राज्यमा २८८ सिटमा भएको विधानसभा चुनावमा भाजपा नेतृत्वको महायुती गठबन्धनले २ सय १७ सिटमा अग्रता लिएको छ ।
यता कांग्रेस नेतृत्वको महाविकास अघाडी ५१ सिटमा अगाडि छ । यदि यी प्रवृत्ति परिणाममा परिणत भयो भने महायुतीको ठूलो जीत हुनेछ । यसैलाई ध्यानमा राख्दै भाजपा, शिवसेना र अजित पवारको एनसीपीका कार्यकर्ता र नेताहरूले उत्सव मनाउन थालेका छन् । महायुतिमा बीजेपी, शिवसेना एकनाथ शिन्दे र एनसीपीका अजित पवार दल समावेश छन् भने महाविकास अघाडी गठबन्धनमा कांग्रेस, शिवसेना उद्धव ठाकरे र एनसीपी काशरद पवार समावेश छन ।
लोकसभा प्रतिनिधित्वको हिसाबले महाराष्ट्र दोस्रो ठूलो राज्य हो । भारतमा विधानसभा संख्याको हिसाबले तेस्रो ठूलो राज्य हो । यस्तै, झारखण्डका ८१ सिटमा पनि मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार यहाँ झामुमो गठबन्धन ४० सिटमा अगाडि छ भने भाजपा गठबन्धन ३८ सिटमा अग्रस्थानमा छ । उता केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ ।
भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले डेढ लाखभन्दा बढी मतान्तरले अग्रता लिएकी छिन । कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरी दोस्रो र भाजपा उम्मेदवार नाभ्य हरिदासले तेस्रो स्थानमा छिन् । प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुन । असारमा सम्पन्न लोकसभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए । दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि गान्धीले वायनाड छाडेर आफ्नी बहिनीलाई उम्मेदवार बनाएका हुन ।
प्रतिक्रिया