वैदेशिक व्यापारमा सुधार, ४ महिनामा ५ खर्ब १३ अर्बको वस्तु आयात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ । यस अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म आयात शून्य दशमलव १७ प्रतिशतले बढेको छ ।
गएको आर्थिक वर्षको यही अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो । यस अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ४ दशमलव १६ प्रतिशतले बढी हो ।
गएको आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो । चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा शून्य दशलव २६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिक व्यापार शून्य दशलव ५३ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ ।
प्रतिक्रिया