राहदानी वितरण ठप्प, विद्युतीय प्रणालीमा समस्या

काठमाडौं । राहदानी विभागको विद्युतीय प्रणालीमा समस्या देखिएपछि राहदानी वितरण प्रक्रिया पूर्णतः ठप्प भएको छ ।

बिहीबारदेखि समस्या सुरु भएसँगै काठमाडौंस्थित विभाग, जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राहदानीसम्बन्धी कुनै पनि सेवा उपलब्ध हुन नसकेको हो । विभागले एक सूचना जारी गर्दै तथ्याङ्क व्यवस्थापन प्रणालीमा आएको प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको बताएको छ । 

समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको र आइतबारदेखि कम्तीमा विभागको मुख्यालयबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ । तर, प्राविधिक टोलीका अनुसार समस्या जटिल भएकाले पूर्ण समाधानका लागि केही दिन लाग्न सक्ने सम्भावना छ ।

अध्ययन, रोजगारी, स्वास्थ्य उपचारलगायतका उद्देश्यले यात्रा तय गरेका सेवाग्राहीहरू प्रक्रियामा अवरोध आएपछि अन्योलमा परेका छन् ।

प्रतिक्रिया