राष्ट्रपति पौडेलले गरे प्रमुख दलका नेतासँग छलफल, एमालेद्वारा बैठक बहिस्कार
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख दलका नेतासँग आज शितल निवासमा परामर्श गरेका छन । संसदमा देखिएको गतिरोध लगायतका विषयमा पौडेलले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका हुन । सो क्रममा उनले संबिधान कार्यान्वयनका लागि प्रमुख दलहरुका विचमा समझदारी बन्नुपर्नेमा जोड दिएका छन । लामो समयदेखि सदन अवरुद्ध हुँदा त्यसको राम्रो सन्देश नगएको समेत पौडेलले दलका नेताहरुलाई बताएका छन । छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत प्रमुख दलका नेताहरुले भने सहमतिका लागि भएका प्रयासका विषयमा अवगत गराएका छन । राष्ट्रपतिले बोलाएको बैठक एमालेले भने बहिस्कार गरेको छ । राजनीतिक एजेण्डामा राष्ट्रपतिले छलफल गर्न नमिल्ने एमाले नेताहरुले प्रतिक्रिया दिएका छन । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका थिए । राष्ट्रपतिको चासोमा एमालेले आपत्ति जनाएको हो ।
प्रतिक्रिया