शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् ।

सम्मेलनमा २ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा. शैल रुपाखेती बताउछन् । उनका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमुलक कार्यपत्रको प्रस्तुती रहनेछ । यस्तै २५ भन्दा बढी सर्जिकल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उनि बताउछन् ।

कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उहाँको भनाय छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्यचिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ ।

“देशविदेशका शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ”, महासचिव डा. रुपाखेती भन्छन्, “सम्मेलनका अवसरमा शल्यचिकित्सका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।”

सम्मेलनमा अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रर्वद्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताए । “सम्मेलनमा हुने अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुतिले शल्यचिकित्सा क्षेत्रमा नयाँ प्रविधि र सीपको सुदृढीकरण गर्न मद्दत पुग्नेछ”, मुख्यमन्त्री पाण्डेले भने, “स्वास्थ्य क्षेत्र सुधारका लागि सामूहिक प्रयास र साझेदारीको खाँचो छ ।”

अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुव्र्यवहारका घटना निन्दनीय रहेको बताउदै उनले त्यस प्रकृतिका कृयाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गरे ।

प्रतिक्रिया