उप-निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उप-निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रका नमूना सार्वजनिक गरेको छ ।
उम्मेदवारको सङ्ख्याका आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ । स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् ।
उक्त नमूना मतपत्रका आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ । यसबीच निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटा भन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।
उप-निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएका प्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेको भन्दा फरक नपार्न निर्देशन दिएको हो ।
प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ ।
प्रतिक्रिया