बालेन एमाले विरुद्ध परिचालित भएको महासचिव पोखरेलको आरोप
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ‘एमाले विरुद्ध परिचालित भएको’ आरोप लगाएका छन् ।
शुक्रबार दिउँसो एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेपछि महासचिव पोखरेलले बालेन विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।
जरिवानाको पत्र काटेपछि पोखरेलले सामाजिक सञ्जालमा ‘मेयर बालेन नेकपा विरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चा बाट बुझ्न सकिने’ दाबी गरेका हुन् । पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फ बाट भइरहेको र त्यो फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको दाबी गरेका छन् ।
अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर नगरप्रमुख शाहको निर्देशनमा प्रचार गरिएको उनको भनाइ छ । बालेनको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा रहेको समेत पोखरेलले उल्लेख गरेका छन् ।
प्रतिक्रिया