बाल सुधार केन्द्रवाट सोमबार भागेका किशोरहरुको खोजी जारी
बाल सुधार केन्द्रका किशोरहरू झ्याल र पर्खाल फुटाएर भागेका किशोरहरुको प्रहरीले आजपनि खोजी जारी राखेको छ । समयमै उपचार नभएर सहकर्मीको मृत्यु भएको भन्दै सोमबार आन्दोलनमा उत्र्रेका १७ जना किशोर फरार रहेका छन । सुधार गृहममा २ सय ९७ कैदी रहेकोमा ४२ महिला र ३३ पुरुष गरी ७६ जना भागेका थिएनन । २ सय २१ भागेकोमा २ सय ४ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । बाँकीको खोजी जारी रहेको छ । कमजोर व्यवस्थापन र बाहिरबाट आन्दोलन भएको मौकाको फाइदा उठाउँदै सुधार गृहको पर्खाल र गेट फोरेर किशोर भागेकाहरुको खोजी गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । गृह तोडेर भाग्ने क्रममा प्रहरीसँगको झडपमा केही प्रहरी र किशोर घाइते भएका थिए । कैदीबन्दीको आन्दोलन सोमबार मात्रै नभएर आइतबारदेखि नै सुरु भएको थियो । सोमबार दिउँसो उनीहरूले रड, भालालगायतका सामग्री प्रयोग गरेर बालगृहको पछिल्लो भाग फुटाएर भागेका थिए । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षका कमल बस्नेतको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरिरहेका थिए । उनलाई रामेछापबाट विसं २०७७ जेठ २९ गते बलात्कार मुद्दामा सुधार गृहमा बस्नेतलाई पठाइएको थियो । बस्नेत आइतबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि गट्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्युको कारण खुलेको छैन । शव पोस्टमार्टमका लागि केएमसी अस्पतालमा राखिएको छ । थुनुवाले भित्रैबाट र मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन । घटनाको छानविन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति बनेको छ ।
प्रतिक्रिया